पाठ ४ वंशाणुक्रम (भाग २)

  पाठ ४ वंशाणुक्रम (भाग २)

  1. तलका प्रश्नको सही विकल्प छनोट गर्नुहोस् :

  1. मेन्डलले आफ्नो प्रयोगका लागि कुन बिरुवा लिएका थिए ?

(अ) केराउ

(आ) चना

(इ) मकै

(ई) सिमी

  1. मोनोहाइब्रिड क्रसको जिनोटाइपिक अनुपात तलका मध्ये कुन हो ? 

(अ) 1:2

(आ) 3:1

(इ) 1:2:1

(ई) 9:2:3:1

  1. एउटा वंशबाट अर्को वंशमा सर्ने गुणलाई के भनिन्छ ?

(अ) प्रबल गुण

(आ) लुप्त गुण

(इ) वंशाणुगत गुण

(ई) आयातित गुण

  1. कालो वर्ण भएका आमाबुबाहरूबाट गोरो वर्ण भएको बच्चा जन्मियो । यस्तो हुनको कारण के हो ?

(अ) आमाबुबा ठिमाहा हुनु

(आ) आमाबुबा दुबैमा शुद्ध कालो गुण हुनु

(इ) गोरो वर्ण प्रबल गुण हुनु

(ई) कालो गुण लुप्त गुण हुनु

  1. कृषकले राम्रो मासु उत्पादन गर्नका लागि बोयर जातको बोका खोजेर स्थानीय बाख्राहरूसँग क्रस गराएर प्रजनन गराउने गर्छन् । यसरी प्रजनन गराउनु कस्तो किसिमको विधि हो ?

(अ) कृत्रिम प्रजनन (इ) IVF

(आ) छनोट प्रजनन (ई) प्राकृतिक चयन

  1. रमितले सुन्तला र कागतीबिच प्रजनन गराएर नयाँ बिरुवा उत्पादन गरेक छन्। उक्त बिरुवा कस्तो बिरुवा हो ?

(अ) उन्‍नत जातको बिरुवा

(आ) शुद्ध बिरुवा

(इ) ठिमाहा बिरुवा

(ई) कृत्रिम बिरुवा

  1. रोशनी हिमाली क्षेत्रकी विद्यार्थी हुन् । उनको घरमा ढुवानीका लागि खच्‍चर पालिएको छ । तर उनको खच्चर बुढो भएकाले उनको घरमा नयाँ खच्चर ल्याउने कुरा चलिरहेको छ । यस सन्दर्भमा उनले बुबालाई खच्चरले कसरी बच्चा जन्माउँछ भनेर सोधिन ? उनको बुबाले दिएको सही उत्तर तलका मध्ये कुन हो ?

(अ) खच्चरले प्राकृतिक रूपमा बच्चा जन्माउँछ ।

(आ) खच्चरले इनब्रिडिङ गर्छ ।

(इ) खच्चरले आफैँ बच्चा जन्माउन सक्दैन ।

(ई) खच्चरले कृत्रिम तरिकाले बच्चा जन्माउँछ ।

  1. फरक छुट्याउनुहोस् :

  1. प्रबलगुण र लुप्‍तगुण


प्रबलगुण 

लुप्‍तगुण

दुई फरक गुण भएका एउटै प्रजातीबिच परप्रजनन  गर्दा  पहिलो वंशमा उत्पन्‍न हुने जीवमा जुन गुण देखापर्दछ त्यसलाई प्रवल गुण भनिन्छ । 

दुई फरक गुण भएका एउटै प्रजातीबिच परप्रजनन गर्दा पहिलो वंशमा देखा नपर्ने गुणलाई लुप्त गुण भनिन्छ । 

प्रबलगुण पहिलो वंशमा देखा पर्छ । 

लुप्त गुण पहिलो वंशमा देखा पर्दैन तर दोस्रो वशमा देखा पर्छ । 

ठिमाहा जीवहरूमा प्रबल गुण बाहिरी रूपमा देखा पर्छ । 

ठिमाहा जीवहरूमा लुप्त गुण बाहिरी रूपमा देखा पर्दैन । 


  1. फिनोटाइप र जिनोटाइप


फिनोटाइप 

जिनोटाइप

जीवहरूको बाहिरी बनावट अनुसार देखिने गुणलाई फिनोटाइप भनिन्छ । 

जीवहरूको जिन वा वंशाणुको बनावट अनुसार देखिने गुणलाई जिनोटाइप भनिन्छ ।  

यसले जीवको बाहिरी संरचना जनाउँछ । 

यसले जीवको जेनेटिक संरचना जनाउँछ । 

मेन्डेलको मोनोहाइब्रिड क्रसको दोस्रो वंशको  फिनोटाइपिक अनुपात 3:1 हुन्छ । 

मेन्डेलको मोनोहाइब्रिड क्रसको दोस्रो वंशको जिनोटाइपिक अनुपात 1:2:1 हुन्छ ।

यसलाई वातावरणले प्रभाव पार्छ । 

यसलाई वातावरणले प्रभाव पार्दैन । 


  1. इन ब्रिडिङ र क्रस ब्रिडिङ


इन ब्रिडिङ

क्रस ब्रिडिङ

यो प्रजनन धेरै नजिकको सम्बन्ध भएका जीवहरूका बिचमा गराइन्छ । 

यो प्रजनन एकआपसमा असम्बन्धित दुई जीवहरूको बिचमा गराइन्छ । 

इन ब्रिडिङ गरी  उत्पादन गरिएको जीवलाई शुद्ध नस्लका रूपमा लिइन्छ । 

क्रस ब्रिडिङ गरी उत्पादन गरिएको जीवलाई ठिमाहा भनिन्छ । 

यो प्रजननले आनुवंशिक गुणहरू यथावत राख्‍न सहयोग गर्छ । 

यो प्रजननले आफ्नो रुचिको विशेषता भएका जीव उत्पादन गर्न सहयोग गर्छ । 


  1. कृत्रिम गर्भाधान र इन्भिट्रो फर्टिलाइजेसन


कृत्रिम गर्भाधान

इन्भिट्रो फर्टिलाइजेसन

उन्‍नत नस्लको भालेबाट वीर्य सङ्कलन गरी उपकरणको प्रयोगद्वारा ठिक समयमा पोथीको प्रजनन पथमा प्रवेश गराउने प्रविधि कृत्रिम गर्भाधान हो । 

महिलाको अण्ड निकालेर पेट्रिडिसमा राखी पुरुषको शुक्राणुसँग पेट्रिडिसमै निसेचित गराइ केही दिनपछि महिलाको पाठेघरमा राख्‍ने प्रविधि इन्भिट्रो फर्टिलाइजेसन हो ।   

पोथी जनावरको शरीरभित्र भ्रुण निर्माण हुन्छ । 

महिलाको पाठेघर बाहिरै भ्रुण निर्माण हुन्छ । 

यो प्रकारको प्रजनन पशु पालन क्षेत्रमा आनुवंशिकताको गुणस्तर सुधार गर्न प्रयोग गरिन्छ । 

यो प्रकारको प्रजनन गर्भाधारणसम्बन्धी विभिन्‍न समस्याका कारणले सन्तान जन्माउन नसकेका दम्पतीहरूका लागि प्रयोग गरिन्छ । 


  1. टाइगन र लाइगर


टाइगन

लाइगर

भाले बाघ र पोथी सिंहबिच क्रस प्रजनन गराएर जन्मेको जनावर टाइगन हो । 

भाले सिंह र पोथी बाघबिच क्रस प्रजनन गराएर जन्मेको जनावर लाइगर हो । 

यो आमा बाबुभन्दा पनि सानो हुन्छ । 

यो आमा बाबुभन्दा धेरै ठुलो हुन्छ । 

यसको टाउको लाइगरको भन्दा सानो हुन्छ । 

यसको टाउको फराकिलो र ठुलो हुन्छ । 




  1. कारण दिनुहोस् :

  1. सन्तान आफ्ना आमाबुबा जस्तै हुन्छन् तर दुरुस्त उस्तै हुँदैनन् ।

उत्तरः कोषको न्युक्लियसमा रहेका क्रोमोजोममा हुने वंशाणुले आमाबुबामा गुणहरू सन्तानमा सार्ने हुनाले सन्तान आफ्ना आमाबुबा जस्तै हुन्छन् तर मियोसिस कोष विभाजनको बेला हुने क्रसिङ ओभर साथै परिवृत्तिको कारणले दुरुस्त उस्तै हुँदैनन् । 


  1. मेन्डलले आफ्नो प्रयोगका लागि केराउको बिरुवा रोजे ।

उत्तरः मेन्डलले आफ्नो प्रयोगका लागि केराउको बिरुवा रोज्‍नुका कारणहरू यसप्रकार छन् । 

  • केराउको बिरुवामा जोडा फरक गुणहरू पाइनु, 

  • केराउको जीवन चक्र छोटो हुनु, 

  • केराउको फूल उभईलिङ्गी  र बन्द भएकोले स्व-प्रजनन हुन सक्नु, 

  • आवश्यकता अनुसार परप्रजनन गराउन सकिनु, 

  • केराउबाट एकै पटक धेरै बिउहरू उत्पादन गर्न सकिनु, 

  • केराउको बिरुवालाई उमार्न सजिलो हुनु आदि ।   


  1. अग्लो केराउको बोट र होचो केराउको बोटबिच पर परागसेचन गराउँदा पहिलो वंशमा सबै बोट अग्ला भए ।

उत्तरः मेण्डलको प्रवलताको नियम अनुसार कुनै पनि दुई फरक गुण भएका प्रजातीहरूबिच परप्रजनन गराउँदा पहिलो वंशमा एउटा गुणमात्र देखा पर्छ र अर्को गुण लुप्त रहन्छ । त्यसैले अग्लो र होचो केराउबिच परागसेचन गराउँदा अग्‍लो प्रवल गुण भएकोले पहिलो वंशमा सबै बोट अग्‍ला भए, होचो गुण लुप्त रहेको हुनाले नदेखिएको हो । 


  1. ठिमाहा जीवमा स्वसेचन गराउँदा अलग अलग किसिमका सन्ततिको उत्पादन हुन्छ ।

उत्तरः ठिमाहा जीवले प्रवल र लुप्त दुई किसिमको गुण बोकेको हुनाले ठिमाहा जीवमा ग्यामेट बन्‍ने क्रममा तिनै गुणहरू छुट्टिएर अलग अलग शुद्ध ग्यामेटहरु बन्छन् र प्रजननमा भाग लिन्छन्। तसर्थ स्वसेचन गराउँदा अलग अलग किसिमका सन्ततिको उत्पादन हुन्छ ।  


  1. अपराधिक अनुसन्धानमा DNA परीक्षणलाई बढी विश्वसनीय मानिन्छ।

उत्तरः DNA को अनुक्रमलाई सजिलै बिगार्न सकिदैन । अपराधिक अनुसन्धानको क्रममा DNA मा भएका नाइट्रोजन बेसको क्रमलाई तुलना गरिन्छ जुन विश्‍वसनीय, न्‍यायपूर्ण र प्रभावकारी हुन्छ । त्यसैले अपराधिक अनुसन्धानमा DNA परीक्षणलाई बढी विश्‍वसनीय मानिन्छ ।  


  1. जेनेटिक इन्जिनियरिङमा DNA को सूक्ष्म अध्ययन गरिन्छ।

उत्तरः जेनेटिक इन्जिनियरिङमा DNA को संरचना परिवर्तन गरेर, वंशाणु हटाएर वा थपेर नयाँ गुणको विकास गरिन्छ । DNA को सुक्ष्म अध्ययन नगरिकन यसको संरचना, कार्य र प्रक्रिया परिवर्तन र नियन्त्रण गर्न सकिदैन । त्यसैले जेनेटिक इन्जिनियरिङमा DNA को सूक्ष्म अध्ययन गरिन्छ।

  


  1. क्रस ब्रिडिङबाट जन्मिएका जीव नपुंसक पनि हुन सक्छन् ।

उत्तरः क्रस व्रिडका माउहरुको क्रोमोजोमको संख्या बराबर नहुन सक्छन्। जसले गर्दा सन्ततिमा हुने क्रोमोजोमको संख्या स्थिर नभइ घटी वा वढि  हुन जान्छ। यसको असरवाट क्रोमोजोमल डिसअर्डर हुने हुँदा, धेरैजसो क्रस व्रिडिङवाट जन्मिएका जीवको प्रजनन क्षमता हुदैन वा नपुंसक हुन्छन्। उदाहरणको लागि, घोडा र गधाको क्रसबाट खच्चर जन्मिन्छ जसमा घोडाको क्रोमोजोम 64 वटा तर गधाको क्रोमोजोम 62 वटा हुन्छन। तर खच्चरमा (32+31‍‌=63) 63 वटा क्रोमोजोम हुन्छन, जुन विजोर संख्या हो। यसले गर्दा  एउटा अतिरिक्त क्रोमोजोम भइ उक्त खच्चरमा प्रजनन क्षमता हुदैन । 


  1. डिएनए परीक्षणका लागि नमुना सङ्कलन गर्दा उच्च सतर्कता अपनाउनुपर्छ ।

उत्तरः DNA परीक्षण जटिल र अति संवेदनशील कार्य हो । एक साधारण त्रुटिले DNA को क्रममा परिवर्तन  हुँदा ठुलो गलत नतिजा ल्याउन सक्छ । त्यसैले DNA  परीक्षणका लागि नमुना सङ्‍कलन गर्दा उच्‍च सतर्कता अपनाउनु पर्छ । 



  1. तलका प्रश्नको उत्तर लेख्नुहोस् :

  1. जेनेटिक्स भनेको के हो ?

उत्तरः वंशाणु, वंशाणुक्रम र परिवृत्तिका बारेमा अध्‍ययन गर्ने जीव विज्ञानको एउटा विधालाई जेनेटिक्स भनिन्छ । 


  1. डिएनए परीक्षण भनेको के हो ? यो केका लागि प्रयोग गरिन्छ ?

उत्तरः अनुवांशिक प्रविधिको प्रयोग गरी वंशाणु अधिव्‍यक्ति तुलना गरी परीक्षण गर्नुलाई DNA  परीक्षण भनिन्छ । DNA परीक्षण अपराधिक अनुसन्धान गर्न, पितृत्व परीक्षण गर्न, फोरेन्सिक विज्ञानमा साथै वैज्ञानिक तथ्यहरू स्थापित गर्न प्रयोग गरिन्छ ।  

  1. जेनेटिक प्रविधिका उदाहरण दिनुहोस् ।

उत्तरः जेनेटिक प्रविधिका उदाहरणहरू यसप्रकार छन् । 

  • जेनेटिक इन्जिनियरिङ 

  • DNA अनुक्रम 

  • ट्रान्सजेनिक टेक्नोलोजी 

  • PCR (पोलिमरेज चेन रियक्सन) 

  • DNA क्लोनिङ 


  1. जेनेटिक प्रविधिमा DNA को महत्त्व उल्लेख गर्नुहोस् ।

उत्तरः जेनेटिक प्रविधिको माध्यमबाट DNA मा विभिन्‍न परिवर्तन गराई नयाँ नयाँ गुण विकास गर्न सकिन्छ । त्यसैगरी DNA अनुक्रमको जानकारीको आधारमा यसको संरचना, कार्य र प्रक्रियामा प्रयोग गरेर जीवहरूका विशेषतालाई परिवर्तन वा नियन्त्रण गर्न सकिन्छ । साथै DNA परीक्षणबाट विभिन्‍न अपराधिक घटनाको अनुसन्धान गर्न र पितृत्व परीक्षण गर्न सकिन्छ । त्यसैले जेनेटिक प्रविधिमा DNA को धेरै महत्त्व छ ।  


  1. जेनेटिक इन्जिनियरिङको महत्त्व वर्णन गर्नुहोस् ।

उत्तरः जेनेटिक इन्जिनियरिङको महत्त्व यसप्रकार छ । 

  • कृषि उपज र गुणस्तर सुधार गर्न, 

  • जैविक र अजैविक तनावले गर्दा हुने नोक्सानलाई कम गर्न, 

  • जीव तथा वनस्पतिको प्रजनन क्षमता सुधार गर्न, 

  • जीवको DNA संरचना परिवर्तन गरी उपयुक्त जीव तयार गर्न, आदि । 


  1. मोनोहाइब्रिड क्रस भनेको के हो ? रातो (RR) फूल फुल्ने केराउ र सेतो ( rr ) फूल फुल्ने केराउको बिच पहिले परपरागसेचन त्यसपछि स्वपरागसेचन गराउँदा पहिलो र दोस्रो वंशमा आउने परिणामलाई फिलियल चार्टद्वारा देखाउनुहोस् ।

उत्तरः एउटा मात्र फरक गुण भएको जीवहरूबिच परप्रजनन गराउने प्रक्रियालाई मोनोहाइब्रिड क्रस भनिन्छ । जस्तैः कालो र सेतो मुसा बिच गरिने प्रजनन । 


शुद्ध रातो फूल  =  RR 

शुद्ध सेतो फूल  =  rr  
















दोस्रो वंशको फिनोटाइप‍ 

रातोः सेतो = 3ः1 (75% : 25%)


जिनोटाइप ‍‍‍‍‍

शुद्द रातोःठिमाहा रातोः शुद्द सेतो = 1ः2ः1 ( 25% : 50% : 25%)


  1. मेन्डलको प्रयोग विरुवामा मात्र नभई जनावरमा पनि गर्न सकिन्छ भन्‍ने तथ्यलाई एउटा उदाहरणसहित स्पष्ट पार्नुहोस् ।

उत्तरः  शुद्ध लामो पखेटा भएको (LL)  र शुद्ध छोटो पखेटा भएको (ll)  ड्रोसोफिला नामक झिँगामा क्रस गराइ दोश्रो वंश सम्मको नतिजा हेर्दा मेन्डलको बिरुवामा भएको प्रयोगको नतिजा जस्तै नतिजा प्राप्त भएको छ। तसर्थ मेन्डलको प्रयोग विरुवामा मात्र नभई जनावरमा पनि गर्न सकिन्छ। उक्त प्रयोगको नतिजालाई निम्‍नानुसारको चार्टमा देखाइएको छ।


















दोश्रो वंश नतिजा

फिनोटाइप ‍‍= लामो पखेटा : छोटो पखेटा = 3:1 (75% : 25%)

जीनोटाइप = शुद्ध लामो पखेटा: ठिमाहा लामो पखेटा: शुद्ध छोटो पखेटा ‍ = 1:2:1 (25% : 50% : 25%)


  1. मेन्डलको प्रबलताको नियम र सन्तानको शुद्धताको नियमको व्याख्या गर्नुहोस् ।

उत्तरः 

प्रबलताको नियमः 

मेन्डलको प्रवलताको नियम अनुसार एउटा फरक-फरक शुद्ध गुण भएका जीवहरूका बीच परप्रजनन गराउँदा पहिलो वंशमा एउटा मात्र गुण देखिनुलाई प्रबलताको नियम भनिन्छ । पहिलो वंशमा देखापर्ने गुणलाई प्रवल गुण र दबिएर रहेको गुणलाई लुप्त गुण भनिन्छ । जस्तैः अग्‍लो र होचो केराउबिच परपरागसेचन गराउँदा पहिलो वंशमा सबै अग्‍ला केराउ देखिनु प्रवल गुण हो भने होचा नदेखिनु लुप्त गुण हो । 

सन्तानको  वा लैङ्गिक शुद्धताको नियमः 

पहिलो वंशको ठिमाहामा दुई फरक गुणहरू सँगसँगै रहे पनि आआफ्नो मौलिकता नगुमाई शुद्ध नै रहेका हुन्छन् । जब ठिमाहामा ग्यामेट बन्छ मियोसिस कोष विभाजन हुँदा माउकोषमा रहेका शुद्ध वा ठिमाहा एलिलिमा वंशाणुहरू छुट्टिएर प्रत्येक ग्‍यामेटमा शुद्ध गुण मात्र जान्छ । यस नियमलाई सन्तान वा लैङ्‍गिक शुद्धताको नियम भनिन्छ । जस्तैः मेन्डलको प्रयोगमा पहिलो वंशमा प्राप्त अग्लो बिरुवामा अग्लो र होचो हुने गुण सँगसँगै रहेतापनि ग्यामेट बन्दा अग्लो र होचो हुने गुण छुट्‍टिएर शुद्ध ग्यामेट बन्छ।

  1. पोटिलो बिउ हुने केराउ र चाउरिएको बिउ हुने केराउबिच पहिले परपरागसेचन र त्यसपछिको वंशमा स्वपरागसेचन गराउँदा दोस्रो वंशमा आउने परिणाम तलको तालिकामा देखाइएको छ । त्यो तालिकाका आधारमा तलका प्रश्नको उत्तर दिनुहोस् ।


R

r

R

RR

Rr

r

Rr

rr


  1.  प्रबल र लुप्त गुणहरू देखाउने बिरुवाको अनुपात कति हुन्छ ?

उत्तरः प्रवल र लुप्त गुण देखाउने बिरुवाको अनुपात (पोटिलोःचाउरिएको) =  3ः1 हुन्छ । 


  1. यिनीहरूको फिनोटाइपिक अनुपात र जिनोटाइपिक अनुपात लेख्नुहोस्।

उत्तरः 

फिनोटाइपिक अनुपात, (पोटिलोःचाउरिएको) 3ः1 र

 जिनोटाइपिक अनुपात,  (शुद्ध पोटिलोःठिमाहा पोटिलोःशुद्ध चाउरिएको)‍ = 1ः2ः1 हुन्छ । 


  1.  यीमध्ये कुनचाहिँ शुद्ध पोटिलो बिउ हुने बिरुवा हो, किन ?

उत्तरः यी मध्‍ये RR चाहिँ शुद्ध पोटिलो बिउ हुने बिरुबा हो किनभने यसमा लुप्त गुण छैन । 



  1. एउटा कालो गिनी पिग र सेतो गिनी पिगबिच परप्रजनन गराउँदा पहिलो वंशमा सबै गिनी पिगहरू काला मात्र देखा परे । यो वंशमा सेता गिनी पिगहरू नदेखिनुको कारण स्पष्ट पार्नुहोस् ।

उत्तरः एउटा कालो गिनी पिग र सेतो गिनी पिगबिच परप्रजनन गराउँदा पहिलो वंशमा सबै गिन पिगहरू काला मात्र देखा परे किनकि कालो रङ प्रबल गुण हो भने सेतो लुप्त गुण हो र कालो गिनी पिग र सेतो गिनी पिग बिच क्रस गराउँदा पहिलो वंशमा प्रबल गुणले लुप्‍त गुणलाई ढाकेर आफुलाई मात्र प्रस्तुत गर्न सफल हुन्छ। 

OR, 

मेन्डलको प्रबलताको नियम अनुसार कुनै पनि दुई फरक गुण भएका जीवहरूबीच परप्रजनन गर्दा पहिलो वंशमा एउटा गुणमात्र देखापर्दछ र अर्को लुप्त रहन्छ । त्यसैले कालो गिनी पिग र सेतो गिनी पिगबिच समागम हुँदा कालो गुण सेतोभन्दा प्रवल रहेकोले पहिलो वंशमा सबै गिनी पिगहरू काला मात्र देखा परे । पहिलो वंशमा सेता गिनी पिगहरू देखिएनन् किनभने सेतो गुण लुप्त गुण भपकोले दबिएर रहेको हुन्छ ।  


  1. एक जना मानसिक सन्तुलन गुमाएकी किशोरी बलात्कारको सिकार भएर बच्चा जन्मेछ । उक्त बच्चाको पिता कसरी पत्ता लगाउन सकिएला ?

उत्तरः उक्त बच्‍चाको पिता DNA परीक्षण गरेर पत्ता लगाउन सकिएला । 


  1. एकै पटकमा धेरै गाईमा प्रजनन गराउनका लागि जिल्ला पशु विकास केन्द्रले शिविर चलायो । यसमा उक्त संस्थाले कुन विधि प्रयोग गयो ? उक्त विधिको संक्षिप्‍त व्याख्या गर्नुहोस् ।

उत्तरः एकै पटक धेरै गाईमा प्रजनन गराउनका लागि जिल्ला पशु कार्यालयले कृत्रिम गर्भाधान विधिको प्रयोग गरी शिविर चलायो । उन्‍नत नश्लको भालेबाट वीर्य सङ्कलन गरी उपकरणको प्रयोगद्वारा ठिक समयमा पोथीको प्रजनन पथमा प्रवेश गराउने प्रविधि कृत्रिम गर्भाधान हो । यस विधिबाट जन्मेका सन्तान प्राकृतिक सम्भोगबाट जन्मेका जस्तै सामान्य नै हुन्छन् । यस प्रक्रियामा स्वस्थ अवस्थामा रहेको भालेको शरीरमा उत्पादित वीर्यलाई कृत्रिम विधिद्धारा उचित समयमा सङ्‍कलन गरी पोथीको पाठेघरमा पठाई गर्भाधान गराइन्छ ।  


  1. जेनटिक इन्जिनियरिङ वर्तमान युगका लागि वरदान कि अभिशाप हो ? आफ्ना तर्क प्रस्तुत गर्नुहोस् ।

उत्तरः जेनेटिक इन्जिनियरिङले प्रयोगशालामा आधारित प्रविधिको प्रयोगबाट जीवको DNA संरचनामा परिवर्तन, अनुवांशिक परिमार्जन गरी DNA को वंशाणुको कुनै गुण थप्‍ने वा हटाउने कार्य गरी नयाँ गुण  बिकास गर्ने, वंशाणुका भेरियन्टहरु अर्को पुस्तामा हस्तान्तरण गर्ने, जीवका विशेषताहरु नियन्त्रण गर्ने, जीवको गुणस्तर सुधार गर्ने, प्रजनन क्षमता सुधार गर्ने, रोग प्रतिरोधात्म क्षमता सुधार गर्ने तथा जीवमा हुने जैविक तथा अजैविक तनावले गर्दा हुने नोक्सान कम गर्न जेनेटिक इन्जिनियरिङको उच्च सम्भावना देखिएको हुनाले  जेनेटिक इन्जिनियरिङ वर्तमान युगका लागि वरदान सावित भएको छ। 


  1. AI प्रविधि आम कृषकको मुहारमा खुसी ल्याउन कसरी सहयोगी बनेको छ, व्याख्या गर्नुहोस् ।

उत्तरः गर्भधानको लागि भाले जनावरको पालनपोषण गरिरहनु नपर्ने, विर्य संकलन गरेको हुँदा भाले जनावरको मृत्यु पश्‍चात पनि गर्भधान हुने, गर्भधानको दर वृद्धि हुने, गर्भधानको क्रममा जनावरमा चोटपटक लाग्‍नबाट बच्‍ने आदि  हुँदा कृषकलाई निकै सहज र फाइदा पुग्छ। तसर्थ AI  प्रविधि आम कृषकको मुहारमा खुसी ल्याउन सहयोगी बनेको छ।


  1. निःसन्तान दम्पतीका लागि IVF वरदान साबित भएको छ । उक्त भनाइलाई स्पष्ट पार्नुहोस् ।

उत्तरः विभिन्न कारणबस सन्तान जन्माउन नसकेका दम्पतिको आफ्नै अण्डा र शुक्राणु प्रयोग गरी प्रयोगशालामा गर्भधान गराई उक्त भ्रुनलाई पुन महिलाको पाठेघरमा राखी पाकृतिक रुपमा भ्रुणको विकास गराई सन्तान जन्माउन सकिने वा दाताबाट अण्डा वा शुक्राणु प्राप्‍त गरि सोही प्रक्रियाद्वारा सन्तान जन्माउन सक्नुका साथै गर्भाधारण क्षमता बढाउने र गर्भपातको समस्या घटाउने भएकोले निःसन्तान दम्पतिका लागि IVF  बरदान सावित भएको छ।  



Post a Comment

Popular Items